काठमाडौं । कतारले इरानी राजदूतलाई देश निकाला गरेको छ । कतारको रास लाफान औद्योगिक क्षेत्रमा भएको इरानी मिसाइल आक्रमणबाट व्यापक क्षति भएपछि कतारले इरानी राजदूतलाई देशनिकाला गरेको हो ।
कतारको एक प्रमुख तेल प्रशोधन क्षेत्रमा इरानले मिसाइल आक्रमण गरेको हो ।
इजरायली आक्रमणबाट इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रका सुविधाहरूमा क्षति पुगेको छ । इरानले निर्णायक कारबाही गर्ने चेतावनी दिँदै जारी गरेको सूचीमा रास लाफान पनि समावेश थियो ।
“आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिन आपतकालीन प्रतिक्रिया टोलीहरू तुरुन्तै परिचालन गरिएको थियो, किनकि त्यहाँ व्यापक क्षति भएको छ,” कतार इनर्जीले सामाजिक सञ्जालमा लेखेको छ ।
विज्ञप्तिमा सबै कर्मचारीहरू सम्पर्कमा रहेको र हालसम्म कुनै मानवीय क्षतिको खबर नभएको जनाइएको छ ।
कतारले दुई इरानी कूटनीतिज्ञ र कर्मचारीलाई दियो देश छोड्न आदेश
कतारको औद्योगिक क्षेत्र रास लाफानमा भएको आक्रमणपछि कतारको परराष्ट्र मन्त्रालयले इरानका सैन्य र सुरक्षा सहचारीहरूलाई उनीहरूका कर्मचारीसहित देश छोड्न आदेश दिएको छ ।
कतारले ‘पर्सोना नन ग्राटा’ (अवाञ्छित व्यक्ति) घोषणा गरेका ती व्यक्तिहरूले २४ घण्टाभित्र देश छोड्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो कदम बारम्बार भइरहेका इरानी आक्रमणका कारण चालिएको मन्त्रालयले बताएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको विज्ञप्तिमा, यदि इरानले आफ्नो शत्रुतापूर्ण गतिविधि जारी राखेमा कतारले आफ्नो रक्षाका लागि थप कदमहरू चाल्न बाध्य हुने चेतावनी दिइएको छ ।
इरानको ‘क्रूर आक्रामकता’ले ‘सबै रेड लाइन’ पार गरेको कतारको भनाइ
यसैबीच, कतारको परराष्ट्र मन्त्रालयले साउदी अरब र संयुक्त अरब इमिरेट्सका ऊर्जा सुविधाहरूमा भएका इरानी आक्रमणहरूको कडा शब्दमा निन्दा गरेको छ ।
ती आक्रमणहरू अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तहरूको घोर उल्लंघन र विश्वव्यापी ऊर्जा सुरक्षाका लागि गम्भीर खतरा भएको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले छिमेकी देशहरूविरुद्ध इरानी ‘क्रूर आक्रामकता’ले सबै खतराको सीमा पार गरेको पनि बताएको छ ।
साथै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा र स्थिरता पुनस्र्थापना गर्न यस क्षेत्रमा तनाव कम गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
कतारले रास लाफान इन्डस्ट्रियल सिटीमा भएका निर्लज्ज मिसाइल आक्रमणहरू आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थिरताका लागि प्रत्यक्ष खतरा भएको जनाएको छ ।
“इरानी पक्षले आफ्ना उत्तेजक नीतिहरू जारी राखेको छ, जसले यस क्षेत्रलाई खाडलतर्फ धकेलिरहेको छ । यस संकटका प्रत्यक्ष पक्ष नरहेका देशहरूलाई समेत द्वन्द्वको घेरामा तानिरहेको छ,” देशको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमा लेखेको छ ।
विज्ञप्तिमा कतारले जवाफ दिने आफ्नो अधिकार सुरक्षित राख्ने बताइएको छ । आफ्नो सार्वभौमसत्ता, सुरक्षा तथा नागरिकको सुरक्षाका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्न नहिचकिचाउने पनि उल्लेख गरिएको छ । बीबीसी







