काठमाडौँ महानगरका हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडा (३२ वटा) मा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ । 

दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पुर्‍याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । 

स्वीकृत मापदण्डअनुसारको तालिम सञ्चालन गर्न कार्यवाहक मेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपकुमार केसी र रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलका बीच सम्झौता पत्रमा हस्ताक्षर भयो । 

‘आपतकालीन अवस्थाका व्यक्तिको जीवन रक्षाका लागि यो अति जरुरी पर्छ । यसकारण प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्न लागेका हौँ । वडाको भौगोलिक अवस्था, तालिम लिने व्यक्तिको तत्परता जस्ता सूचकका आधारमा तालिम चल्नेछ । एक पटक प्रदान गरिएको तालिमलाई दिगो बनाउन आवश्यकताका आधारमा थप योजना तर्जुमा हुनेछन्,’ सम्झौतापछि कार्यवाहक मेयर डंगोलले भनिन् । 

सम्झौता बमोजिम हरेक वडामा २५ जनाको समूहलाई तालिम प्रदान गरिनेछ । तालिमको तयारीका लागि वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रसँग तयारी बैठक हुनेछ । हरेक वडाको तालिम सञ्चालन गर्न १ लाख ६३ हजार ८५० रुपैयाँ खर्च हुनेछ । सोसाइटीले आउँदो असार १० गतेभित्र सबै वडामा तालिम सम्पन्न गर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update