मन्त्री श्रेष्ठले थाले विद्युत् नीतिको मस्यौदामाथि छलफल

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिको मस्यौदामाथि आन्तरिक छलफल सुरू गरेका छन् ।

विद्युत् नीति ल्याउँदा ऊर्जा क्षेत्रको समग्र तथ्य र तथ्यांकसमेत स्पष्ट हुने गरी अगाडि बढाउन मातहतका निकायसँग उनले छलफल गरेका हुन् । उनले नीतिको मस्यौदामाथि सरोकार पक्षहरूसँग बृहत् छलफल गरी दीर्घकालीन सोचका साथ अगाडि बढाउने बताए ।

गुणस्तरीय ऊर्जा आपूर्ति, आन्तरिक खपतमा वृद्धि, ऊर्जा सम्मिश्रण, जलवायु परिवर्तनको प्रभाव, लस एन्ड ड्यामेज, कार्बन ट्रेडजस्ता गम्भीर विषयलाई विद्युत् नीतिले सम्बोधन गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।

उनले भविष्यमा आइपर्ने ऊर्जा क्षेत्रका चुनौतीलाई अहिलेदेखि नै सोच्नुपर्ने बताए । आगामी दिनमा ऐन, कानुन निर्माण गर्दा विद्युत् नीतिले नै दिशानिर्देश गर्ने हुँदा नीति ल्याउँदा भविष्यका सम्भावित चुनौतीको सामना गर्न तयार हुने गरी ल्याउनुपर्ने बताए ।

विद्युत् नीतिले जलविद्युत् तथा स्वच्छ ऊर्जाको विकासमा दूरगामी प्रभाव पार्ने पुँजी परिचालनको अवधारणासमेत समेट्ने गरी तयार गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update