काठमाडौं - नेपालको अटोमोवाइल क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पदाधिकारीबीच विस्तृत छलफल भएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री वाग्लेसँग भेट गरी अटोमोवाइल क्षेत्रको सुधारका लागि आवश्यक नीति तथा कार्यक्रमबारे सुझाव प्रस्तुत गरेको हो।
भेटका क्रममा अध्यक्ष उप्रेतीले अर्थमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिँदै अटोमोवाइल क्षेत्रको विकासका लागि नयाँ नीतिगत पहल आवश्यक रहेको बताए। उनले सरकारबाट स्पष्ट र व्यवसायमैत्री नीति आएमा राजस्व वृद्धि हुनुका साथै रोजगारी सिर्जनामा समेत टेवा पुग्ने धारणा व्यक्त गरे।
जवाफमा अर्थमन्त्री वाग्लेले सरकारले राजस्व संकलन बढाउने उपायहरूबारे गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिए। उनले करको दर घटाएर राजस्वको दायरा विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै निजी क्षेत्रमैत्री नीति ल्याइने आश्वासन दिए। साथै, अनियमितता नियन्त्रण, सडक पूर्वाधारमा ठूलो लगानी तथा आगामी बजेट निर्माणका क्रममा नाडासँग पुनः छलफल गरिने उनले बताए।
छलफलका क्रममा अध्यक्ष उप्रेतीले अटोमोवाइल उद्योग प्रवर्द्धनका लागि आयातित कच्चा पदार्थमा सहुलियत दिनुपर्ने आवश्यकता औंल्याए। उनले हाल सि.के.डी. प्रणाली सहज भए पनि स्वदेशी उद्योग सञ्चालनमा कठिनाइ रहेको बताए। साथै, नेपालमै उत्पादन भइरहेका टायर-ट्युब, ब्याट्री, लुब्रिकेन्ट्स र हेलमेटजस्ता वस्तुको गुणस्तर मापन गर्ने पर्याप्त उपकरण सरकारसँग नभएको भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे।
उक्त अवसरमा नाडाले ३६ बुँदे लिखित सुझावसमेत अर्थमन्त्रीसमक्ष पेश गरेको छ।
नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोवाइल कम्पोनेन्ट उद्योगको ठूलो सम्भावना रहेको बताए। त्यस्तै, विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानीमैत्री नीतिको आवश्यकता औंल्याउँदै विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि स्पष्ट नीति आवश्यक रहेको बताए। उनले भारतमा जीएसटी घटेसँगै चोरी निकासी बढेको भन्दै सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने धारणा राखे।
नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए।
छलफलमा नाडाका उपाध्यक्षहरू अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष नीलमणि पाठक लगायतको उपस्थिति रहेको थियो।






