काठमाडौं । देशका विभिन्न ठाउँमा आज (चैत २५) मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् रोजन लामिछानेका अनुसार, सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरू, मधेस प्रदेशसहित तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
"सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरू, कोसी र वाग्मती प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरू, मधेस प्रदेशसहित तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ," मौसमविद् लामिछानेले भने ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । आजदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाउन उनले अनुरोध गरे ।
बुधबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
"गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस, लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशको पहाडी र तराई भूभागमा केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ," विभागले भनेको छ ।
आज राति, देशभर साधारणतया बादल लाग्नेछ । कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।






