सुर्खेत । जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र नयाँ भवनको जग खन्दा ठूलो मात्रामा विस्फोटक पदार्थ भेटिएको छ ।
परिसरभित्र प्रशिक्षण भवनको जग खन्दै गर्दा उक्त विस्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार, भेटिएको विस्फोटक पदार्थमा ८२ थान सकेट बम, तीन थान सुतली बम, एक थान बोतल बम, करिब ४०० ग्राम विस्फोटक पदार्थ, सातवटा रेडियो आईईडी, १० मिटर फायरिङ केबल तथा करिब दुई केजी बम बनाउन प्रयोग हुने मेटल पार्ट्स भेटिएको छ । यो सामग्री माओवादी द्वन्द्वकालको समयमा यहाँ लुकाएर राखिएको हुन सक्ने बताइएको छ ।
उक्त भेटिएको सामग्रीलाई प्रहरीले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार नेपाली सेनाको टोलीले सल्यानको शारदा नगरपालिका–१ स्थित सीता सामुदायिक वन क्षेत्रमा सुरक्षित रूपमा डिस्पोज (निष्क्रिय) गरेको जनाइएको छ ।





