काठमाडौँ । भारतले लिपुलेकबारे नेपालले राख्दै आएको अडानलाई फेरि अस्वीकार गर्दै त्यसलाई 'त्रुटिपूर्ण' भनेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार साप्ताहिक प्रेस ब्रिफिङमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै लिपुलेक—कैलाश मानसरोबर सडक नयाँ कुरा नभएर सन् १९५४ देखि नै चल्दै आएको बताए।
‘यो नयाँ कुरा होइन। हामीले पछिल्लो स्टेटमेन्टमा स्पष्ट भनेका छौँ बहुपक्षीय वा सीमा विस्तारको जुन कुरा छ त्यो दाबी ठिक छैन। नेपालसँग बाँकी जति मुद्दा छन्, त्यसमा कुराकानी गर्न हामी तयार छौँ’, उनले भने, ‘तर एकतर्फी दाबी गर्नु, फलानो चिज हाम्रो हो, यसमा हाम्रो पोजिसन सही छ भन्ने तरिका जुन छ, त्यो ठिक भएन।’
नेपालले वैशाख २० गते नेपाली भूमि लिपुलेकबाट भारत र चीनले कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेकोमा आपत्ति जनाउँदै दुवै देशलाई कुटनीतिक नोट पठाएको थियो।
नेपालले कुटनीतिक नोट पठाएको भोलिपल्ट भारतले पत्र पठाउँदै नेपाली अडानमा असहमति जनाएको थियो। लिपुलेक हुँदै चीन—भारत मार्ग सन् १९५४ देखि नै चल्दै आएको दाबी गरेको थियो। बिहीबार फेरि भारतले आफ्नो पुरानै अडान दोहोर्याएको हो।
नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको बताउँदै प्रवक्ता जैशवालले पेट्रोलियम पदार्थ, रासायनिक मलको आपूर्ति सम्झौताअनुसार भइरहेको र निरन्तर भइरहने जनाए।
दुई देशबीचको व्यापारिक र रणनीतिक सहकार्य निकै मजबुद रहेको भन्दै उनले भने, ‘हामी दुई देशबीच घनिष्ठ सम्बन्ध छ। केही दिन अघि पश्चिम एशियाको तनाबलाई लिएर तेलको कुरा आएको थियो। दुई देशबीच जुन सम्झौता छ त्यसअनुसार हामीले उपलब्ध गराइरहेका छौँ। रासायनिक मल आपूर्ति गर्न पनि भारत तयार छ।’





