ज्यानै जोखिममा राखेर भिरमा मह काढ्दै, पर्यटक पनि आकर्षित

काठमाडौँ  । साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्छ। जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ। यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ। 

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मिप्रागाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका चाकाको सिकार गर्न ज्यानै जोखिममा राखेर डोरीमा झुन्डिएर मह सिकार गरिन्छ। यस कार्यले स्थानीय बासिन्दासँगै पर्यटकलाई पनि आकर्षित गरेको छ। गाउँको पुर्ख्यौली पेशाकै रूपमा अगाडि बढाउन सकिनेगरी भिर मौरीको मह काढ्ने कार्यमा संलग्न हुँदै आएको स्थानीय बताउँछन्।

भिर मौरीको मह काढ्ने परम्परालाई निरन्तरता दिँदै आएको स्थानीय टेकबहादुर गुरुङ बताउँछन्। विगतमा ज्येष्ठ नागरिकको मात्रै सहभागिता रहने मह काढ्ने परम्परालाई जीवन्त राख्न नयाँ पुस्ता पनि संलग्न हुन थालेको गुरुङको भनाइ छ। 

‘भिर मौरीको मह औषधिका रूपमा प्रयोग हुन्छ। त्यसैले जोखिम मोलेर भिरबाट मह काढ्ने गरिएको छ,’ गुरुङ भन्छन्, ‘भिर मौरीको महको माग पनि बढी छ।’

वर्षमा दुई पटक मह काढ्ने गरिएको उनी बताउँछन्। पहिलो चरणमा वैशाखको अन्तिम सातादेखि जेठको दोस्रो साताभित्र निकाल्ने गरिन्छ। त्यस्तै, दोस्रो चरणमा असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातामा निकालिन्छ।  ‘शुक्रबार मात्रै मह काढ्ने चलन छ,’ उनी भन्छन्। 
मह धेरै भएको समयमा भने दुई दिन लगाएर मह निकाल्ने गरिएको छ। मौरीको सिकार गर्न तिथिमिति जुराएर जङ्गलबाट निगालो ल्याउने र चोया बनाई लठ्ठा बनाउने गरिन्छ। आगोमा तताउँदै लठ्ठाबाट गाउँले मिलेर भर्‍याङ बनाउने गर्छन्। एक पटक बनाइएको भर्‍याङ तीन–चार वर्षसम्म उपयोग गर्न सकिन्छ। 

यसरी बनाइएको भर्‍याङ मह निकाल्न (काढ्न) गाउँले एकसाथ भिरमा मह सिकारका लागि जाने गर्छन्। विश्वकै साहसिक पेशाका रूपमा परिचय बनाएकाले मह सिकार हेर्न विदेशी पर्यटकको आकर्षण बढ्दै जानुका साथै यस गाउँको आयआर्जनको माध्यम बनेको सिकारी मीनबहादुर गुरुङ बताउँछन्। 

‘पहिलापहिला त मुख मात्रै छोपेर मह निकालिन्थ्यो, अहिले त शरीर पूर्ण रूपमा छोपेर मह निकाल्ने गरेका छौँ,’ उनी भन्छन्, ‘यसले जोखिमबाट जोगाएको छ।’

मौरीले कम चिल्दा थेरापीको रूपमा काम गर्छ भने बढी चिलेमा मानिसको ज्यानै जानसक्ने जोखिम हुने गुरुङ बताउँछन्। पहिलेदेखि नै औषधिका रूपमा प्रयोग गरिँदै आएको उनको भनाइ छ। 

पहिले स्थानीयको सहभागितामा मात्रै निकालिने मह अहिले विदेशीको आकर्षण बढ्दै गएको गुरुङ बताउँछन्। हाल भिर मौरीको मह सिकार गरेको हेर्न विदेशी आउने गरेका छन्। 

पर्यटकलाई आकषित गर्दै प्राकृतिक र साहसिक कार्यलाई जीवन्त राख्न निरन्तरता दिनुपर्ने टर्कीका नागरिक केमल बताउँछन्। ‘यस्तो चिल्ने मौरीको मह सिकार जोखिमयुक्त छ तर यहाँका स्थानीयको साहसिकताले लोभ्यायो,’ उनी भन्छन्, ‘प्राकृतिक जोखिम मोलेजस्तै यसलाई आयआर्जनसँग जोड्न सक्नुपर्छ।’

आश्चर्यचकित पार्नेगरी स्थानीयले मह निकालेको देख्दा डर लागेको केमल बताउँछन्। ‘म त निकालेको महमा केही मौरी बसेको देख्दा पनि डराएको थिएँ। नेपाली साहसी छन्, नेपालीका बारेमा जुन बयान सुनिएको थियो त्यो आफ्नै आँखाले देख्न पाइयो,’ उनी भन्छन्। 

भिर मौरीको मह काढ्ने परम्परामात्रै नभएर मह औषधिजन्य भएकाले अझ माग बढी हुने गरेको छ। त्यसैले यसलाई निरन्तरता दिन आवश्यक रहेको स्थानीय बताउँछन्।  

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  ०८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update