काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल र नेपालका लागि सिंगापुरका उपउच्चायुक्त (डेपुटी एम्बास्डर) सुमाया बाकाभीबीच शिष्टाचार भेट भएको छ ।
काठमाडौँ प्लाजामा रहेको कार्यवाहक मेयर डंगोलको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटका क्रममा कार्यवाहक मेयर डंगोलले फोहरमैला व्यवस्थापन, सहरी स्वच्छता, सरसफाइ र नागरिकका दैनिक जीवनसँग जोडिएका सेवा तथा सहरी व्यवस्थापनका कामलाई दिगो र संस्थागत बनाउँदै लगिएको बताइन् । डेपुटी एम्बास्डर बाकाभीले विगत ५ वर्षमा काठमाडौँको सुन्दरता र व्यवस्थापनमा सकारात्मक परिवर्तन अनुभव सुनाउँदै यसका लागि तपाईँहरुले के काम गर्नुभयो ? भन्ने प्रश्नको जवाफमा कार्यवाहक मेयर डंगोलले यस्तो बताएकी हुन् ।
आपसी हित, विकासका आयाम र नवप्रवर्तनका विषयमा कुरा गर्दै डंगोलले, सार्वजनिक यातायातका साधनलाई यात्रुको पहिलो छनोट बनाउने कार्यक्रम सञ्चालन गरिरहेको बताएकी डंगोलको सचिवालयले जानकारी दिएको छ ।
कुराकानीका क्रममा डेपुटी एम्बास्डर वाकाभीले सहरी विकास र व्यवस्थापनसँगै स्थानीय शासन, स्थानीय निर्वाचन प्रणाली, स्थानीय निर्वाचनमा महिला निर्वाचित हुने व्यवस्था, प्रमुख र उपप्रमुखका कानुनी दायित्व लगायत विषय जिज्ञासा राखेकी थिइन् ।
भेटका अवसरमा दूताबासका पोलिटिकल फस्ट सेक्रेटरी द्वय अब्राहम टाम र जोस्हुआन लिम, सोसल सेक्रेटरी सोनिया, महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख गंगाधर गौत्तम, कार्यवाहक मेयरको सचिवालयका अधिकृत सौरभ गौत्तमसहित अधिकारीहरु सहभागी थिए ।





