काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौँमा रहेका १३२ जना बालबालिकालाई विद्यालय पठाउन थालेको छ ।
नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित बालबालिकालाई डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कूलमा अध्ययन गराउन थालेको हो ।
विद्यार्थीहरुलाई पुस्तक र दिवा खाजा उपलब्ध गराइएको छ ।
पहिलो दिन ५९ जना बालबालिका कक्षामा उपस्थित भए । उनीहरुको मनमा पुगेको गहिरो चोट कम गराउन आवश्यकता र उपलब्धता बुझ्न काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल विद्यालयमा पुगेर बालबालिकालाई विद्यालय आउन प्रोत्साहित गरिन् ।
उनले बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुसँग कुरा गर्दै, ‘वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उहाँहरुसँग आत्मीय व्यवहार गरेर मनको आघातलाई विर्सन सघाउनू, किताब र पाठभन्दा विद्यार्थीमा भएको त्रास कम गराउन परामर्श गर्नू,’ भनिन् ।
विद्यार्थीहरुलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, शिक्षा विभागका अधिकारीहरु विद्यालय गएर बालमैत्री वातावरण निर्माणका लागि सहजीकरण गरेका थिए ।
यसरी विद्यालय आउने विद्यार्थीमध्ये केहीका बुबा आमा दुवै छैनन् । केहीका बुबा वा आमामध्ये एकजना छैनन् भने कसैका परिवार छन् तर, घर र बसोबास स्थल छैन ।
यसरी विद्यालय जाने विद्यार्थीहरुका लागि कोशिस नेपालले झोला र पोशाकको व्यवस्था गरिदिएको छ । यस्तै मनोसामाजिक परामर्श प्रदान गरेको छ । आश्रय स्थलबाट विद्यालयसम्म ल्याउन पुर्याउन एलआरआइ स्कूलले सवारी साधन उपलब्ध गराएको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशिल सुवेदीले जानकारी दिए ।
दोस्रो दिन ६१ जना विद्यार्थी विद्यालय आएका छन् । विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठ भन्छन्– ‘विद्यालय आउने कुरालाई स्वतः स्वीकार गर्ने विद्यार्थी आउनुभएको हो । गहिरो चिन्तामा परेका विद्यार्थीहरुलाई बल गराएर आउनै पर्छ भन्ने गरिएको छैन । परामर्शबाट विस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास छ । विद्यालय आउने विद्यार्थीको संख्या बढ्दो छ ।’
सुवेदीका इसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरु महानगरपालिकाको सम्पर्कमा छन् । उनीहरुमध्ये सबैभन्दा धेरै कक्षा १ मा अध्ययन गर्ने ४५ जना छन् । इसीडी, नर्सरी र कक्षा १० मा अध्ययन गर्ने २–२ जना छन् । नर्सरी, युकेजी र कक्षा १२ मा अध्ययरत १–१ जना छन् ।
कक्षा २ मा ८ जना, कक्षा ३ मा ११ जना, कक्षा ४ मा १२ जना, कक्षा ५ मा ९ जना, कक्षा ६ र ७ मा ६–६ जना छन् ।
महानगरले दिएको जानकारी अनुसार कक्षा ८ मा ११ जना, कक्षा ९ मा १० जना र कक्षा ११ मा ५ जना विद्यार्थी छन् ।




