जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

पाल्पा । जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ । 

जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । 

उनका अनुसार च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारका क्रममा तानसेनस्थित  मिसन अस्पतालमा मृत्यु भएको हो । “गत शुक्रबार नजिकैको जङ्गलबाट उहाँहरूसहित तीन जनाले च्याउ ल्याएर खाएका रहेछन । शनिबार बिहानदेखि बान्ता र झाडापखला हुन थालेपछि उपचारका लागि अस्पताल पु(याइएको थियो”, प्रनाउ भट्टराईले भने, “उपचारका क्रममा विनिमायाको सोमबार र बालकुमारीको मङ्गलबार मृत्यु भएको हो ।”  

च्याउ खाई बिरामी भएकी ५० वर्षीया यममाया जर्घा मगरको भने उपचार भइरहेको  छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, जिल्लाको तानसेन, निस्दी र माथागढीमा पनि विषालु च्याउ खाएर १२ जना बिरामी परेका छन् । 

जिल्ला प्रहरीले उक्त विवरण आजै मात्र सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  २०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update