सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको स्वास्थ्यमा सुधार

काठमाडौं। सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको बिहीबार सफल उद्दार गरी काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

ह्याम्स अस्पतालले विज्ञप्ति जारी गरी लामो समय सगरमाथा क्षेत्रमा बेपत्ता शेर्पालाई जलवियोजन देखिएकाले आइसीयुमा राखेर उपचार भइरहेको जानकारी दिएको छ । 

शेर्पाको दुवै हातका कान्छी औँलामा दोस्रो चरणको फ्रस्टबाइट र दायाँ हातको बुढी तथा माझी औँलामा पहिलो चरणको फ्रस्टबाइट देखिएको अस्पतालले जनाएको छ । 

चिकित्सकीय परीक्षणका क्रममा शेर्पाको दाहिने खुट्टाको तीघ्राको हड्डीमा फ्याक्चर र सोही क्षेत्रको माङ्सपेशीमा रगत जमेको फेला परेको अस्पतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा.ज्योतीन्द्र शर्माले शेर्पाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र जलवियोजनको समस्यामा उल्लेख्य सुधार आइरहेको जानकारी दिए । 

चिकित्सकको टोलीले शेर्पाको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेको र उनलाई अझै केही दिन आइसियुमै राखेर उपचार गरिने अस्पतालले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update