भानु नगरपालिका वडा नम्बर ९ द्वारा ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

दमौली । तनहुँको भानु नगरपालिका-९ ले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । 

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादन लागत घटाउने तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले वडाभित्रका किसानको मागका आधारमा उपकरण वितरण गरिएको हो ।

कार्यक्रमअन्तर्गत १४ थान मिनी टिलर, १० थान कम्बाइन्ड मिल, चार थान ‘स्प्रे मेसिन’ तथा चार थान घाँस काट्ने उपकरण वितरण गरिएको वडाध्यक्ष मीन गुरुङले जानकारी दिए । 

कृषि कार्यमा प्रयोग हुने यस्ता उपकरणले किसानको श्रम, समय र लागत बचत गर्न सहयोग पुग्ने विश्वास लिइएको उनले बताए । 

हाल कृषि क्षेत्रमा जनशक्तिको अभाव, उत्पादन लागतमा भएको वृद्धि तथा परम्परागत कृषि प्रणालीका कारण धेरै किसान कृषि पेसाबाट निरुत्साहित हुने अवस्था देखिएको छ । 

यस्ता चुनौतीलाई मध्यनजर गर्दै कृषिलाई प्रविधिमैत्री, उत्पादनमुखी र व्यावसायिक बनाउन वडा कार्यालयले अनुदान कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष गुरुङले बताए । 

उनले भने, 'किसानले आधुनिक उपकरणको प्रयोगमार्फत कम समयमा बढी काम गर्न सक्ने, उत्पादन लागत घटाउन सक्ने र उत्पादन वृद्धि गर्न सक्ने अपेक्षा गरिएको छ ।'

वडाध्यक्ष गुरुङका अनुसार किसानलाई आधुनिक कृषि उपकरणसँग जोड्नु आजको आवश्यकता भएकाले प्रविधिमैत्री बनाउन पहल थालिएको हो । 

'परम्परागत तरिकाले खेती गर्दा लागत बढ्ने र श्रम बढी लाग्ने भएकाले किसान निरुत्साहित हुँदै गएका छन् । यस अवस्थालाई परिवर्तन गर्न तथा कृषिलाई सहज, सरल र उत्पादनमुखी बनाउन वडा कार्यालयले ५० प्रतिशत अनुदानमा मेसिनरी वितरण गरेको हो', उनले भने ।

वडाध्यक्ष गुरुङले वितरण गरिएका उपकरणको सही सदुपयोग गर्न किसानलाई आग्रह गर्दै कृषि उत्पादन वृद्धि, आयआर्जनमा सुधार हुनुका साथै युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए । 

उपकरण प्राप्त गरेका किसानले वडा कार्यालयको पहलप्रति उत्साहित भएका छन् । किसानले आधुनिक उपकरणको प्रयोगले खेतीपाती गर्न सहज हुनुका साथै लागत कम हुने र उत्पादन बढ्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update