शाकाको ह्याट्रिकसँगै इंग्ल्याण्ड तेस्रो, फ्रान्स ६–४ ले पराजित

काठमाडाैं। फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्डले विश्वकप फुटबलमा तेस्रो स्थान हात पारेको छ । 

मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक गरे । पहिलो हाफमा दुई गोल गरेका शाकाले ८७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । 

खेलको तेस्रो मिनेटमा नै डेकलान राइसले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको १८औं मिनेटमा राइसकै पासमा कोन्शाले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाए ।

त्यसपछि शाकाले ३७ औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै चार गोलको अग्रता दिलाएका थिए । 

दोस्रो हाफमा फ्रान्स खेलमा फर्कियो । खेलको ४८औं मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल फर्काए ।

यस्तै ब्राडली बारकोलाले ५४औं मिनेटमा र कप्तान एमबाप्पेले ६६औं मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा पुर्‍याए । खेलको ८७औं मिनेटमा इंग्ल्यान्डका लागि पेनाल्टीमार्फत गोल गर्दै शाकाले आफ्नो ह्याट्रिक पूरा गरे । 

दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई फेरि खेलमा फर्काउन कोशिस गरेका थिए । तर अन्तिम समयमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाए ।

सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्यान्डले त्यसपछि सबैभन्दा उत्कृष्ट स्थान हासिल गरेको यो पहिलो पटक हो । यसअघि सन् २०१८ मा इंग्ल्यान्ड चौथो भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update