वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति  सवारी सञ्चालन गर्न रोक

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । 

केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।

नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ । 
यद्यपि बिहान ४ देखि बेलुका ६ बजेसम्म सवारी सञ्चालनको व्यवस्था गरिएको छ ।

त्यसैगरी, कान्ति लोकपथमा अपराह्न ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ । 

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलो बनेपछि सवारी आवागमन बन्द भएको छ । 

यसैगरी, अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ ढुङ्गेखोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं २ कोदारी क्षेत्रमा पहिरो तथा लेदोसहितको ढुङ्गा–माटो खसेपछि अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । 

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने, वडा नं ८ गिम्दी तथा वडा नं ९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेकाले बिपी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update