होर्मुज स्ट्रेटमा एक तेल ट्यांकर समुद्री धरापमा पर्दा आगो लागेको छ । इरानी समाचार एजेन्सी तस्निमका अनुसार यो ट्यांकर तेहरानले तय गरेको समुद्री मार्गभन्दा अलग बाटोबाट जाने क्रममा समुद्री माइनमा ठोक्किन पुगेको थियो ।
इरानले यसअघि पनि केही पटक कुनै पनि जहाज आफूले तय गरेको मार्गभन्दा अलग मार्गबाट जाँदा कुनै घटना भएमा त्यसको परिणामको जिम्मेवारी उसैको हुने बताइसकेको छ।
यद्यपि यो घटनाबारे इरानी अधिकारीहरुको कुनै प्रतिक्रिया आइसकेको छैन । यो जहाजमा भएको क्षति वा हताहतीबारे पनि कुनै स्पष्ट जानकारी बाहिर आएको छैन ।
अमेरिका र इरानबीच गत फेब्रुअरीमा युद्ध सुरु भएपछि पहिलो पटक यसरी कुनै जहाज समुद्रमा बिछ्याएको माइनमा ठोक्किन पुगेको हो । होर्मुज स्ट्रेटमा इरानले अमेरिकी हमलापछि माइन बिछ्याएको थियो ।
युद्धविरामपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई हटाउन आदेश दिए पनि युद्धविरामकै समयमा पनि हमला जारी राखेपछि विश्वासको वातावरण बन्न नसक्दा अझै माइन हटाउने काम हुन सकेको छैन ।




