सुनसरी। सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीको गोली लागेर एक जना युवकको मृत्यु भएको छ ।
यसैगरी८ जना प्रदर्शनकारी र ८ जना प्रहरी गरी अन्य १६ जना घाइते भएका छन्।
दुईपक्षबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।
कप्तानगन्जमा गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा आइतबार राति मृत्यु भएको हो ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सो क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध जनाएपछि विवाद सुरु भएको थियो ।
विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई प्रहार गरे पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ ।
झडपमा घाइते भएका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका धेरैजसाेलाई गोली लागेको छ ।
घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राई, प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, रामबहादुर राई, विजय यादव, नवराज पोखरेल, बुद्धदेव साह र निवेश यादव पनि घाइते भएका छन् ।




