भ्रष्टाचार आरोपमा पूर्ववडाध्यक्षविरुद्ध मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–५ का पूर्ववडाध्यक्ष विजयकुमार यादवविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स वडा कार्यालयको जिन्सीमा आम्दानी नबाँधी आफ्नै नियन्त्रणमा राखी सञ्चालन गरिएको थियो । 

एम्बुलेन्स सञ्चालनबाट भएको आम्दानी तथा खर्चको अभिलेख नराखिएको र सरकारी कोषमा दाखिला गर्नुपर्ने रकमसमेत दाखिला नगरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा तीन वर्ष पाँच महिनाको अवधिमा एम्बुलेन्स सञ्चालनबाट १५ लाख नौ हजार २५० बराबरको सरकारी सम्पत्तिमा हानिनोक्सानी भएको आयोगको निष्कर्ष छ । सोही रकमलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार अनुसन्धानका क्रममा आरोपितले तीन लाख ८१ हजार ५९७ दाखिला गरेका छन् । उक्त रकम कटाएर बाँकी रु ११ लाख २७ हजार ६५३ असुलउपर गर्नसमेत मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update