काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो जाँदा नेपाली आरोही निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कबिहीन भएका छन् ।
पाकिस्तानको कराकोरम हिमशृङ्खलामा रहेको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार दिउँसो हिमपहिरो गएको थियो । सो हिमपहिरोसँगै टोलीसँग सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् ।
टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच जना नेपाली नागरिक छन् । टोलीको नेतृत्व गरिरहेका नेपाली आरोही पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ७ महिनाभन्दा छोटो समयमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए ।
मौसम अनुकूल नहुँदा खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्न समेत समस्या भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । विश्वको १२औं अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि कठिन हिमालमध्ये एक मानिन्छ ।



