कप्तानगञ्ज घटना : सरकार र मृतक परिवारबीच ७ बुँदे सहमति, सहिद घोषणा गरी क्षतिपूर्ति दिइने

इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते राति दुई समूहबीचको झडपमा परी मृत्यु भएकाका पीडित परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ । 

शनिबाररातिदेखिको छलफलपछि शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।

सहमति अनुसार मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया सरकारले तत्काल अघि बढाउनेछ भने मृतकका परिवारलाई सरकारले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ ।

योसँगै मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर पनि प्रदान गरिनेछ । 

यसैगरी २०८३ साल साउन १० गते राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमति भएको छ । 

यसैगरी देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन समेत तत्काल सुरु गरिनेछ ।

सरकारले गरेको सहमति अनुसार मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने तथा दुवै जनाको शुक्रबार दिउँसो २ बजे अन्त्येष्टि गरिनेछ । 

सम्झौतापत्रमा गृहमन्त्री सुधन गुरुङ तथा पीडित पक्षका तर्फबाट मृतक ओमप्रकाश मेहताका अभिभावक कुशदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् ।

sahamati-patra-1785462755.jpeg
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update