सिराहामा गोली लागेर ज्यान गुमाएका गणेश यादवको परिवारसँग गृहमन्त्रीले गरे ७ बुँदे सम्झाैता

काठमाडाैं। सिरहाको गोलबजारमा साउन १४ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवको परिवार र सरकारबीच ७ बुँदे सम्झाैता भएकाे छ।

शुक्रबार औरही गाउँपालिका–२, मोतिपुरमा मृतकका अभिभावक र गृह मन्त्रालयबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

सहमतिअनुसार सरकारले मृतक गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने छ भने मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख राहत उपलब्ध गराउने छ।

त्यसैगरी, साउन १४ गते गोलबजार बजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने सहमतिमा उल्लेख छ।

सहमतिअनुसार मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। 

साथै, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानुनबमोजिम कार्यान्वयन गरिने सरकारको प्रतिबद्धता रहेको छ।

यस्तै, मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिने र पार्कभित्र मृतकको शालिक स्थापना गरिने सहमति पनि भएको छ।

सहमतिमा मृतकको अन्त्येष्टि गर्ने, मृतकका भाइ र बहिनी निःशुल्क शिक्षा तथा मृतकका बुवा आमाको सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गर्ने उल्लेख छ । 

siraha-sahamati-1785550518.jpeg
 

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update