मस्को। रुसको राजधानी मस्कोमा एक इटालियन रेस्टुरेन्टबाहिर भएको विस्फोटमा परी ३ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
रुसी सरकारी मिडियाले सुरक्षा अधिकारीको हवाला दिँदै एउटा घरेलु विस्फोटक विस्फोट भएको उल्लेख गरेका छन् । यो विस्फोट स्थानीय समयअनुसार साँझ ८ बजे शहरको मध्यभागमा रहेको कुड्रिन्स्काया स्क्वायर नजिकै भएको हो ।
नेशनल एन्टी–टेररिस्ट कमिटिका अनुसार एक महिला विस्फोटक वस्तु लिएर रेस्टुरेन्टभित्र जाने कोशिस गरेकी थिइन् । तर उनलाई सुरक्षा गार्ड रोक्ने कोशिस गरेका थिए । सोही क्रममा विस्फोट हुँदा महिला, सुरक्षा गार्ड र रेस्टुरेन्टमा रहेका अर्का एक व्यक्ति गरी ३ जनाको मृत्यु भएको हो ।
घटनाको समयमा त्यहाँ एउटा निजी कार्यक्रम आयोजना भइरहेको थियो । यद्यपि अधिकारीहरुले कार्यक्रममा सहभागी मानिसहरुबारे कुनै जानकारी दिएको छैन भने हमला कसलाई निशाना बनाएर गर्न खोजिएको थियो भन्ने पनि खुलाएको छैन ।
प्रत्यक्षदर्शीहरुका अनुसार विस्फोटपछि केही मानिस रगताम्य अवस्थामा बाहिर निस्किएका थिए । युक्रेन युद्ध जारी रहँदा पछिल्ला केही समयदेखि मस्को र आसपासका क्षेत्रमा वरिष्ठ रुसी सैन्य अधिकारीहरुको हत्याका घटना बढेका छन् ।
यी हमलामा मस्कोले युक्रेनमाथि आरोप लगाउँदै आएको छ ।



