कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने एलपी ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा आयोजित छलफलमा मुख्यमन्त्री शाहीले आमनागरिकको भान्सा र दैनिक जीविकासँग जोडिएको संवेदनशील विषयमा कसैले पनि खेलबाड नगर्न आग्रह गरे।
उनले सुरक्षा निकाय र बजार अनुगमन टोलीलाई तत्कालै बजारमा खटिएर कृत्रिम अभाव सिर्जना गर्ने, अनधिकृत भण्डारण वा उपभोक्तासँग बढी मूल्य असुल्ने जो–कोहीलाई कानुनी कारवाही गर्न र अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिए।
वीरेन्द्रनगरलगायत आसपासका क्षेत्रमा विगत केही दिनदेखि भइरहेको ग्यासको अभावप्रति प्रदेश सरकारले गम्भीर चासो देखाएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले उपभोक्तालाई राहत दिन निर्देशन दिए।
सो अवसरमा व्यवसायीले आगामी केही दिनभित्रै वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाएर बजारमा आपूर्ति सहज गर्ने प्रतिबद्धता जनाएका थिए ।
छलफलमा नेपाल आयल निगम सुर्खेतका प्रमुख दीपक घिमिरेले पछिल्लो १७ दिनमा मात्रै सुर्खेत र आसपासका बजारमा ३३ हजार ४४० सिलिण्डर ग्यास बिक्रीवितरण भइसकेको जानकारी दिए।
आयल निगम तथा सम्बद्ध व्यवसायीका अनुसार भारतबाट हुने आयात र बजारमा पठाइने ग्यासको परिमाणमा कुनै कटौती नभई आपूर्ति अवस्था सामान्य रहेको छ ।
आपूर्ति नियमित हुँदाहुँदै पनि उपभोक्ता ग्यासका निम्ति राति २ बजेदेखि नै लाइनमा बस्नुपर्ने बाध्यता सिर्जना हुनुमा प्राविधिक तथा मनोवैज्ञानिक कारण भएको बताइएको छ ।
सरकारले केही समयअघि लागू गरेको आधा सिलिण्डर (७.१ केजी) को व्यवस्थालाई खारेज गरी पुनः पूरा सिलिण्डर (१४.२ केजी) वितरण गर्ने निर्णयले बजारको वितरण प्रणालीमा आकस्मिक रुपमा चाप बढेको हो ।
बिक्रेताका अनुसार ग्यासको अभाव हुनसक्ने हल्ला र त्रासका कारण सर्वसाधारणले खाली रहेका सबै सिलिण्डर एकैपटक साट्ने तथा आवश्यकताभन्दा बढी भण्डारण गर्ने प्रवृत्तिले कृत्रिम अभावजस्तो देखिएको हो ।
बैठकमा प्रदेशका उच्च सुरक्षा अधिकारीहरु, नेपाल आयल निगमका प्रमुख र ग्यास बिक्रेताको सहभागिता थियो ।



