नेपालगन्ज। प्रहरीले बाँकेमा नगद पाँच लाखसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–४ स्थित न्युरोडमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले ५२६ दशमलव २९० ग्राम लागुऔषधसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–४ का ३० वर्षीय सुशील भण्डारीका साथबाट १३६ ग्राम ८५० मिलिग्राम लागुऔषध फेला पारेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१० का ५५ वर्षीय अजयकुमार जयशवालका साथबाट ३८९ ग्राम ४५ मिलिग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।
उनका अनुसार उनीहरुका साथबाट भारतीय रुपैयाँ दुई लाख एक हजार ४०० रकम र रु एक लाख ८० हजारसहित पाँच लाख दुई हजार २४० बरामद भएको छ ।
प्रहरीले उनीहरुबाट एक थान डिजिटल तराजु र दुई थान मोबाइलसमेत बरामद भएको जनाएको छ ।
उनीहरुमाथि लागुऔषध कारोबारमा मुद्दा चलाई मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरिने प्रहरी नायब उपरीक्षक राठौरको भनाइ छ । पछिल्लो समय दिनहुँजसो नेपालगन्जमा लागुऔषध कारोबारी धमाधम पक्राउ परेका छन् ।



