युक्रेनी हमलामा रुसमा ७ जनाको मृत्यु, रुसी हमलामा युक्रेनमा पनि ७ जना मारिए

काठमाडौं। रुसी अधिकारीहरुले युक्रेनले रुसमाथि यो वर्षको अहिलेसम्मकै ठूलो हमला गरेको दाबी गरेका छन् । रुसी अधिकारीहरुका अनुसार यो आक्रमणमा परी ७ जनाको मृत्यु भएको छ । 

यस क्रममा करिब ८२२ ड्रोनको प्रयोग गरिएको छ । जसमध्ये ६ सय ड्रोनले राजधानी मस्को र आसपासका इलाकालाई निशाना बनाएको थियो । 

मस्कोको रिजनल गभर्नरले राजधानी मस्कोमाथि हालैका वर्षमा भएको सबैभन्दा ठूलो ड्रोन हमलामध्ये एक भएको बताएका छन् । आक्रमणमा रुसी अनलाइन रिटेल कम्पनी वाइल्डबेरिजको एक वेयरहाउसलाई समेत निशाना बनाइएको थियो । घटनामा तीन जना घाइते भएका छन् । 

यो वेयरहाउस मस्कोको सेन्टरबाट करिब २५ किलोमिटर टाढा कोलेदिनो इलाकामा पर्छ । आक्रमण लगत्तै आगो लाग्दा वेयरहाउसको माथि धुवाँको ठूलो मुस्लो देखिएको थियो । 

रुसको दक्षिण–पश्चिमी रोस्तोभ क्षेत्रमा रातभर भएको हमलामा ५ जनाको मृत्यु भएको छ । यसैगरी युक्रेनको सीमा नजिकै रहेको बेलगोरोदमा पनि एउटा सार्वजनिक गाडीलाई निशाना बनाएर हमला हुँदा एक महिलाको मृत्यु भएको छ । मस्कोमा ड्रोन हमलामा ८३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । 

उता युक्रेनमाथि रुसले पनि जवाफी हमला गरेको छ । जसमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ३९ जनाभन्दा बढी घाइते भएका छन् । 

रुस र युक्रेनका हमला लगातार तीव्र बनिरहेका छन् । रुसले हालैका हप्तामा युक्रेनका केही इलाकामा मिसाइल हमला तीव्र पारेको छ । जसको जवाफमा युक्रेनले पनि रुसको भित्री इलाकामा ड्रोन हमला बढाएको हो । 

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update