एजेन्सी। संयुक्त अरब इमिरेड्स (यूएई) ले इरानसँगका सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नआएसम्मका लागि निलम्बित गर्ने घोषणा गरेको छ ।
समाचार एजेन्सीहरुका अनुसार यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्ने, शान्ति र सुरक्षाका लागि खतरा पैदा हुने अवस्थालाई मध्यनजर गर्दै यो निर्णय लिएको जनाएको छ ।
यसको केही घन्टाअघि यूएईको रक्षा मन्त्रालयले इरानले यूएईमा दुई ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको थियो । यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले यूएईको दाबी अस्वीकार गरेका छन् ।
जबकि यूएईले भने एउटा मिसाइल यूएईको क्षेत्रीय जलक्षेत्रबाहिर खसेको र अर्को चाहिँ देशको जलक्षेत्रसम्म आइपुगेको जनाएको छ । अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि सबैभन्दा धेरै इरानी हमलाको सामना गर्ने देशमध्ये यूएई पनि एक हो ।



