बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले घरमै पुगेर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै गर्भवती तथा सुत्केरी महिलाका लागि पोषिला खानेकुरा दिने कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रमको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुनले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
गाउँपालिकाले स्वास्थ्यमा ज्येष्ठ नागरिकको पहुँच बढाउने उद्देश्यले ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ तथा आमा र बच्चाको पोषण सुधार गरी घरमै जोखिमपूर्ण रुपमा घरमै प्रसूति हुनेको संख्या शून्य बनाउने लक्ष्यसहित ‘गर्भवती र सुत्केरीसँग’ उपाध्यक्ष कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
गाउँपालिकाले यी दुईवटै कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा १० लाख बजेट विनियोजन गरेको छ ।
कार्यक्रममार्फत स्वास्थ्यकर्मीहरुले महिनामा एकपटक ६८ वर्षभन्दा बढी उमेरका नागरिकको घरघरमा पुगेर रक्तचाप र मधुमेह परीक्षण, परामर्श र स्वास्थ्य संस्थामा उपलब्ध भएको औषधि उपलब्ध गराउनेछन् भने स्थानीय अस्पतालमा उपचार हुन नसक्ने अवस्था भएमा अन्य सुविधासम्पन्न अस्पतालमा जान सिफारिस गर्नेछन् ।
यसैगरी तोकिएको चार पटक गर्भ परीक्षण गराउन स्वास्थ्य संस्थामा जाने र अस्पताल तथा प्रसूति गृहमा सुरक्षित प्रसूति सेवा लिने सुत्केरीलाई अण्डा उपहार दिने व्यवस्था पनि गाउँपालिकाले मिलाएको छ ।
हरेक पटक गर्भ परीक्षण गर्न जाँदा र सुत्केरी भइसकेपछि स्वास्थ्यकर्मी घरभेटमा जाँदा अण्डा उपहार दिने व्यवस्था पनि मिलाइएको छ ।
गत वर्ष रघुगंगा गाउँपालिकामा ६८ जनाले यस्तो सुविधा लिएका थिए । गर्भवती र सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा खानुपर्ने सन्देश प्रवाह गराउन र घरमै जोखिमपूर्ण रुपमा सुत्केरी हुने अवस्थालाई निरुत्साहित गरी मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन गाउँपालिकाले तीन वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।



