एजेन्सी । बंगलादेशका सांसद मिर्जा फखरुल इस्लाम आलमगीर देशको नयाँ राष्ट्रपति निर्वाचित भएका छन् ।
करिब ३५ वर्षपछि बंगलादेशमा २३औं राष्ट्रपतिको चुनाव प्रत्यक्ष मतदानबाट भएको हो ।
सत्तारुढ बांग्लादेश नेशनालिस्ट पार्टी (बीएनपी) का उम्मेदवार बनेका मिर्जा फखरुल इस्लाम आलमगीरले २५५ मत पाएर राष्ट्रपति भएका हुन् । आलमगीर सत्तारुढ बीएनपीका वरिष्ठ नेता हुन् । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका कट्टर विरोधी मानिन्छन् ।
सन् २०२४ मा विद्यार्थी आन्दोलनपछि शेख हसिनाले सत्ता छाडेर भाग्नुपरेको थियो । हाल भारतमा रहेकी उनलाई प्रत्यर्पण गर्न माग बढिरहेको छ ।
आलमगीरले बीएनपीकी तत्कालीन प्रमुख खालिदा जिया जेल पर्दा र उनका छोरा तथा हाल बंगलादेशका प्रधानमन्त्री तारिक रहमान बेलायतमा रहदाको कठिन समस्यामा पार्टीको नेतृत्व गरेका थिए । यो क्रममा उनी केही पटक पक्राउ समेत परेका थिए ।
बंगलादेशको राष्ट्रपति पद नेपालको जस्तै औपचारिक पद हो । यद्यपि प्रस्तावित सुधार अनुसार राष्ट्रपतिलाई बढी शक्ति दिने र शीर्ष नेताहरुबीच शक्ति सन्तुलत बनाउने कोशिस समेत सुरु भएको बताइन्छ ।



