टप एन्ड टी–२० सिरिज :  नेपालले एनटी स्ट्राइकविरुद्ध खेल्दै

काठमाडौं। नेपालको ‘ए’ पुरुष राष्ट्रिय क्रिकेट टोलीले आज अष्ट्रेलियाको टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्दैछ।

नेपाल र एनटी स्ट्राइकबीचको खेल आज दिउँसो सवा २ बजेदेखि डार्विनस्थित मरारा क्रिकेट मैदानमा सुरु हुनेछ । 

नेपालले दोस्रोपटक टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो । गत संस्करणमा नेपालको सिनियर टोलीले यो प्रतियोगितामा सहभागिता जनाए पनि यसपटक भने ए टिमले प्रतियोगितामा सहभागिता जनाएको छ । 

अघिल्लो संस्करणमा नेपालले लिग चरणका छमध्ये २ खेलमा जित र चार खेलमा हार व्येहोरेको थियो। 

यसपटक नेपाल ‘ए’ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरणामा पुग्ने लक्ष्यसहित अष्ट्रेलिया गएको छ । 

नेपाल ए टिमबाट खेल्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिनियर टोलीका कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, गुलशनकुमार झाजस्ता खेलाडी टोलीमा समावेश गरेको छ।

एनटी स्ट्राइकविरुद्ध नेपालले दोस्रोपटक खेल्न लागेको हो । गत सिजनमा भएको खेलमा एनटी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update