कपिलवस्तु। कपिलवस्तुबाट अवैध लागुऔषध चरेस र अफिमसहित ५ जना महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन्सरी घर्ती मगर तथा पर्साकी चुमा लामिछाने छन् ।
कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई चरेस र अफिमसहित पक्राउ गरेको हो।
कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्क क्षेत्रमा गस्तीमा रहेको प्रहरीले भारततर्फ जाँदै गरेका उनीहरूलाई रोकेर जाँच गर्दा उनीहरूको साथबाट १५ किलोभन्दा बढी लागुऔषध बरामद भएको हो।
प्रहरीले उनीहरूका साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।



