एजेन्सी। अमेरिकी सरकारले २ लाखसम्म विदेशी नागरिकको बिजनेस र टुरिस्ट भिसा रद्द गर्ने तयारी गरिरहेको छ ।
यो निर्णय लागू भएमा अमेरिकी इतिहासमा सबैभन्दा ठूलो संख्यामा भिसा रद्द हुनेछन् । अमेरिकी विदेश मन्त्रालयले आगामी हप्ताहरुमा बी–१ र बी–२ भिसा रद्द गर्ने घोषणा गर्न सक्ने जनाइएको छ ।
यो भिसा २०१६ देखि २०२६ को बिचमा जारी भएका थिए । यसमा अमेरिकामा शरणका लागि आवेदन दिएका वा आवेदन गर्न लागेकाहरु समेत पर्नेछन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगाटले अमेरिकामा कम समय बस्नेगरी पर्यटक वा व्यापारीका रुपमा आएका र पछि स्थायी रुपमा बस्नका लागि शरणको आवेदन गरेकाहरुमाथि समेत कारबाही हुने बताएका छन् ।
अमेरिकी विदेश मन्त्रालयले भिसा रद्द हुनसक्ने विदेशीको संख्या भने उल्लेख गरेको छैन । अधिकारीहरुले यो प्रक्रिया चरणबद्ध रुपमा चल्ने भएकाले संख्या थपिनसक्ने उल्लेख गरेका छन् ।
भिसा रद्द हुनुको अर्थ सम्बन्धित व्यक्तिलाई तत्काल अमेरिकाबाट ननिकालिने पनि अधिकारीहरुले स्पष्ट पारेका छन् । तर शरण लिनेका लागि लामो प्रक्रिया भएकाले उनीहरुको भिसाको अवस्था बललिन सक्ने, तर उनीहरुको बिजनेस वा टुरिस्टको हैसियत भने समाप्त हुने जनाइएको छ ।
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकाले भिसा नियम पहिलेको भन्दा कडा बनाएको छ । आवेदकहरुबाट सामाजिक सञ्जालको जानकारी मागिदैछ भने महंगो भिसा बण्डको व्यवस्था समेत गरिएको छ । यस्तै केही देशका नागरिकलाई भिसा दिन रोक लगाइएको छ ।
अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डोले केही मानिसहरु पर्यटक भिसा लिएर अमेरिका आउने र शरणार्थीको आवेदन गर्ने गरेको बताएका छन् । उनले शरणको प्रयोग इमिग्रेशन कानुनबाट बच्नका लागि गर्न नहुने उल्लेख गरे ।
बी–१ भिसा आम रुपमा बिजनेस यात्राका लागि हो भने बी–२ भिसा पर्यटन, परिवारसँगको भेटघाट या स्वास्थ्योपचारका लागि जारी गरिन्छ ।
यद्यपि यसरी अमेरिका पुग्नेमध्ये कतिले शरण मागेका छन् भन्ने स्पष्ट तथ्यांक छैन । त्यसैले यो कारबाहीबाट प्रभावित हुनसक्ने सम्भावित विदेशीको संख्या पनि स्पष्ट नभएको हो ।
पछिल्लो १८ महिनामा अमेरिकी विदेश मन्त्रालयले करिब १ लाख ७५ हजार भिसा रद्द गरिसकेको छ । जसमा अपराधका आरोपी या दोषी तथा अमेरिकी नीतिविरुद्ध खुला सार्वजनिक रुपमा बोल्ने मानिसहरु सामेल छन् ।



