प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ। 

प्रतिनिधिसभा नियमावलीमा हरेक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्ने व्यवस्था भए पनि नयाँ सरकार बनेपछि पहिलोपटक प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो। 

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । 

यसअघि सभामुख डीपी अर्यालले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रूलिङ गरेका थिए । 

संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने छन्। 

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्नेछन्। यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update