काठमाडौं। आज मुस्लिम समुदायले इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
मोहम्मदलाई मुस्लिम समुदायको सन्देष्टाका रूपमा मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि साउदी अरबको मदिनामा गएको विश्वास छ।
उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । त्यसैले अहिले हिजरी संवत् १४४८ चलिरहेको छ ।
जगतको सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिना पहिले सबै धर्मावलम्बीले पूजाआराधना गर्ने तीर्थस्थल थिए ।
मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भएको जनविश्वास छ ।
त्यसयता इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रूपमा मक्का र मदिनालाई मान्न थालिएको हो।
यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । जेरूसेलमलाई अहिले पनि इसाइ, इस्लाम र यहुदी धर्मावलम्बीले पवित्र स्थानका रूपमा मान्छन्।
इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् । इस्लाम धर्ममा महत्वपूर्ण योगदान गरेकाले पैगम्बर मोहम्मदको उपदेशलाई स्मरण गरिन्छ ।
पैगम्बर जन्मजयन्तीका उपलक्ष्यमा नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।




