एजेन्सी। अमेरिकाको मोन्टानाको बिलिङ्ग्स शहरमा एकै परिवारका ८ जनाको हत्या भएको घटना बाहिर आएको छ ।
परिवारका सबै सदस्य सँगै बसेर खाना खाइरहेको समयमा एक व्यक्तिले अन्धधुन्ध गोली हानेर आगो समेत लगाइदिएका थिए । त्यसपछि आरोपीले आफूमाथि समेत गोली चलाएका थिए ।
आरोपीबाहेक मृत्यु हुनेमा एकै परिवारका चार पुस्ताका सदस्य थिए । जसमध्ये ४ जना बालबालिका रहेका छन् । प्रहरीका अनुसार उनीहरुले आइतबार साँझ करिब ६ बजे सो घरमा गोली चलेको सूचना पाएका थिए ।
प्रहरी तत्कालै सो घरमा पुग्दा समेत गोलीको आवाज आइरहेको थियो । घरबाहिर एक व्यक्ति घाइते अवस्थामा भेटिएका थिए ।
उनलाई अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । उनी नै यो घटनाका संदिग्ध भएको ठानिएको छ । घटनाका क्रममा ९११ मा प्रहरीलाई घरमा गोली चलेको र बच्चाहरु बेहोश भएको सूचना प्राप्त भएको थियो ।
यसपछि तत्काल दमकल र गाडी पठाइएको थियो । घरमा भीषण आगो लागिरहेका कारण प्रहरीले तत्काल घरभित्र गएर उद्दार गर्न सकेन ।
फायर प्रमुख मैट हापेलले आगो तीव्र रुपमा फैलिएको र घरको ठूलो हिस्सा चलेको बताएका छन् । आगो निभाउनका लागि दमकल प्रयोग गरिएको थियो । घरको ठूलो हिस्सा चलेका कारण थप अनुसन्धानमा समेत कठिनाई भएको छ ।
प्रहरी घटनाबारे थप प्रमाण जुटाउने कार्यमा लागेको छ । प्रहरीका अनुसार संदिग्ध व्यक्ति र मृतकहरुबीच चिनजान थियो । तर हत्याको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।
आगो कसरी लाग्यो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ । अधिकारीहरुले अनुसन्धान पूरा नभएसम्म घटनाबारे थप जानकारी बाहिर सार्वजनिक नगर्ने जनाएको छ ।
अमेरिकामा पछिल्ला केही समयदेखि यस्ता गोलीबारीका घटना बढेका छन् । यसअघि २२ अगस्टमा पनि ओरेगन राज्यको फरेस्ट ग्रोभमा एक घरमा गोली हानी ५ जनाको हत्या भएको थियो ।
आरोपीले आफ्नो पार्टनर, उनकी आमा, हजुरआमासहित ५जनाको हत्या गरेका थिए । संदिग्ध व्यक्ति पनि पछि मृत भेटिएका थिए ।
यस्तै १४ अगस्टमा मिशिगनको मिसाकी काउन्टीमा गोली चल्दा ६ जनाको मृत्यु भएको थियो भने १५ अगस्टमा भर्जिनिया स्टेट युनिभर्सिटीको क्याम्पस नजिकै गोलीबारी हुँदा ५ जना घाइते भएका थिए । यो घटनामा एक १९ वर्षीय संदिग्ध पक्राउ परेका थिए ।




