काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रसुवा हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण आसपासका बस्तीहरूमा उच्च जोखिम बढेको भन्दै सतर्क रहन अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री देउवाले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।
रसुवादेखि नुवाकोट, धादिङ र चितवन लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा बाढीले असर पुर्याउन सक्ने जोखिम रहेकाले समयमै सुरक्षाका उपाय अपनाउन उनले आग्रह गरेका छन्। साथै, प्रभावित नागरिकको द्रुत उद्धारका लागि राज्यका सम्पूर्ण सुरक्षा निकायहरूलाई परिचालन गर्न देउवाले सरकारसँग माग गरेका छन्।
विपद्को यस घडीमा नेपाली कांग्रेस लगायत सम्पूर्ण पार्टी पंक्ति, युवा तथा नागरिक समाजलाई स्थानीय प्रशासनसँग आवश्यक समन्वय गरी आ-आफ्नो क्षेत्रमा उद्धार तथा सहयोग कार्यमा खटिन पनि उनले अपिल गरेका छन्।




