इलामका चुलाचुली र माई नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ३५ लाख सहयोग

इलाम। इलामका दुई पालिकाले भोटेकोशी बाढीपिडितका लागि ३५ लाख सहयोग गर्ने घोषणा गरेका छन्। 

रसुवागढी हुँदै आएको बाढीबाट प्रभावितहरूको उद्धार, उपचार तथा राहतका लागि चुलाचुली गाउँपालिकाले २५ लाख र माई नगरपालिकाले १० लाख रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । 

चुलाचुली गाउँपालिकाको ७६औं कार्यपालिका बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा सात दिनको र वडाध्यक्ष तथा सदस्यद्वारा पाँच दिनको सेवासुविधा प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । 

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले गाउँपालिकाका विभिन्न तहका कर्मचारीको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । 

यसैगरी बिहीबार नै बसेको माई नगरपालिकाको ६५औं कार्यपालिका बैठकले सबै जनप्रतिनिधिका तर्फबाट १५ दिनको सेवासुविधा र कर्मचारीको तर्फबाट दुई दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । 

जनप्रतिनिधि र कर्मचारीबाट संकलित रकममा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम थप गरी १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update