भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाले भोटेकोशी बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख ३५ हजार रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
स्थानीय विपद् व्यवस्थापन समितिले भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोगका लागि सो रकम प्रदान गर्ने निर्णय गरेको हो ।
स्थानीय विपद् व्यवस्थापन कोषबाट १० लाख रूपैयाँ, जनप्रतिनिधिबाट एक महिनाको तलब तथा सेवा सुविधाबापतको ७ लाख जम्मा गर्ने निर्णय भएको मेयर जीवन खत्रीले जानकारी दिए ।
यसैगरी कर्मचारीबाट तहअनुसार दुईदेखि सात दिनसम्मको तलब सुविधा समेत जोडेर २० लाख ३५ हजार रूपैयाँ सहयोग गरिनेछ भने नगरपालिकाका शिक्षकहरूको तर्फबाट १३ लाख बराबरको रकम सहयोग उपलब्ध गराइनेछ।




