कास्की । पोखराको मुख्य बजार क्षेत्रमा सडकमा भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ । शुक्रबार साँझ परेको भारी वर्षापछि पोखरा महानगरपालिका–१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने सडकमा ठूलो भेल आएको थियो।
जसले बगाएर पोखरा–३० ढुङ्गेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
भेलले बगाएका दुवै जनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएको थियो । तर आमाको शुक्रबार राति र छोरीको शनिबार बिहान मृत्यु भएको छ।
स्थानीय कमल दाहाल स्कुटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदैगर्दा भारी वर्षाका कारण सडकमा भेल बढेपछि उनले हर्कचोकमा स्कुटर रोकेका थिए । तर, स्कुटरबाट झर्ने क्रममा दुई वर्षीया रानीकालाई भेलले बगाएर सडकको नालीमा पुर्याएको थियो ।
छोरीलाई बचाउने प्रयासमा नालीमा गएकी सुष्मालाई पनि नालीले बगाएर करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्याएको थियो ।
कमलको हारगुहारपछि स्थानीय र प्रहरीले आमाछोरीलाई पोखरा–१७ बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरेपनि उनीहरू दुवैजनाको ज्यान बचाउन भने असफल भएको छ।




