खुर्कोटस्थित सुनकोशीमा पानीको बहाब उच्च, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षासँगै सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा पानीको बहाव उच्च बनेको छ । 

आइतबार बिहान ७ः२० बजेको मापनअनुसार जलसतहले सतर्कताको सीमा पार गरेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

महाशाखाले विशेष बुलेटिन जारी गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

महाशाखाको पछिल्लो तथ्यांकअनुसार आज बिहान ७ः२० बजे खुर्कोट जलमापन केन्द्रमा नदीको सतह ७.७५ मिटर पुगेको छ र यो क्रम बढिरहेको छ । खुर्कोट केन्द्रमा ७.५ मिटरलाई सतर्कता तह मानिन्छ भने ८.६ मिटरलाई खतराको तह मानिन्छ । 

सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गरेसँगै सिन्धुली र रामेछापका नदी तटीय क्षेत्रहरुमा डुबान र कटानको जोखिम बढेको छ । तटीय क्षेत्रमा बहाब अझै बढ्नसक्ने सम्भावना रहेकाले सुरक्षित स्थानमा रहन र आवश्यक पूर्वतयारी गर्न स्थानीयबासीलाई महाशाखाले अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update