काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो नेपालले आज बहराइनसँग खेल्दैछ ।
मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलमा नेपालले बहराइनविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ ।
एकदिवसीय क्रिकेटमा पहिलोपटक बहराइनविरुद्ध खेल्न लागेको नेपाली टोली जित निकाल्दै उत्कृष्ट सुरुवात गर्ने लक्ष्यमा छ । नेपाल रहेको समूहमा हङकङ, साउदी अरेयिबा, बहराइन र मलेसिया छन् ।
समूहमा पहिलो र दोस्रो हुने टोलीले मात्रै सेमिफाइनलमा स्थान बनाउने भएकाले नेपालका लागि बहराइनविरुद्धको खेल निकै महत्वपूर्ण हुनेछ । पहिलो खेलमा हङकङले साउदीलाई हराएर २ अंक जोडिसकेको छ ।
नेपालले मलेसियाविरुद्ध खेलेका दुवै अभ्यास खेल जितेका कारण उत्कृष्ट प्रदर्शनको योजनामा हुनेछ ।
पहिलो खेलमा शानदार जित निकाले पनि दोस्रो खेलमा भने नेपाली ब्याटिङ केही कमजोर देखिएको थियो । तर उत्कृष्ट बलिङको सहयोगमा नेपालले २७ रनको जित हात पारेको थियो ।
नेपालको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, ईशान पाण्डे, गुलशनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेर मल्ल रहेका छन् ।




