रसुवा बाढीपछि चीनले भन्यो– यो दुःखमा नेपाल एक्लै छैन

काठमाडौं । रसुवामा गएको विनाशकारी बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली चियाङले यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैं साथमा रहेको आश्वासन दिएका छन्। 

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट्न गएका  नेपालका लागि चीनका राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली चियाङको सन्देश सुनाएका हुन्। 

'बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री लीले गहिरो दुःख व्यक्त गरेका हुन्। 

'बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,' राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै राजदूत झाङ माओमिङले थपे, 'यो दुःखमा नेपाल एक्लै छैन। चीन नेपाल र नेपाली जनताको साथमा छ।'

साथै, नेपालको विपद् पछिको उद्धार र राहतमा चीन सरकारले सहयोग निरन्तर जारी राख्ने पनि राजदूत माओमिङले प्रतिबद्धता जनाए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरेका हुन्।

यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद सहयोग पनि हस्तान्तरण गरे । 

राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए । 

राजदूत माओमिङले नेपालका लागि चीन सरकारले घोषणा गरेका अन्य प्रकारका सहायता सामग्रीहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए।

आइतबार मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौँमा ओरालेको राजदूत माओमिङले बताए। साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ।

रसुवाको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उनले अर्थमन्त्रीलाई अवगत गराए ।

त्यस्तै, जलविद्युत कम्पनीको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप दक्ष उद्धार प्राविधिकहरू आइतबार पनि नेपाल आइपुगेको बताए । 
नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update