भोटेकोशी बाढीबाट उद्धार गरिएका दम्पत्तिलाई उपचारपछि मानव सेवा आश्रम पठाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी घाइते भएका दम्पत्तिलाई उपचारपछि मानव सेवा आश्रम पठाइएको छ । सीमा भन्सार क्षेत्रमा मजदुरी गर्दै आएका उनीहरु बाढीपछि परी घाइते भएका थिए । 

उनीहरुलाई उद्धार गरी काठमाडौं महानगरपालिकाले आश्रममा पठाएको हो । स्थायी ठेगाना बाँकेको कोहलपुर भएका ५० वर्षीय श्रीमान् र ४३ बर्षिया श्रीमतीलाई उपचारपछि आश्रममा पठाएको महानगरले जनाएको छ । 

बाढीमा परेर घाइते भएका श्रीमानलाई उद्धार गरेर भदौ ११ गते दिउँसो र श्रीमतीलाई १२ गते साँझ अस्पताल ल्याइएको थियो । उनीहरु दुवैलाई चोट लागे पनि भित्री चोट नदेखिएपछि अस्पतालबाट आइतबार डिस्चार्ज भएका हुन् । 

डिस्चार्जपछि उनीहरुसँग घर फर्किने पैसा समेत नभएको र श्रीमतिलाई पेटको समस्या रहेकाले थप केही दिन आराम आवश्यक भएकोले एम्बुलेन्समा राखेर मानव सेवा आश्रम लगिएको हो ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update