काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ ।
एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनालाई उक्त सहयोग रकम बैंकमा दाखिला गरेको भौचर हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा एनएफपिजेका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।
विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले फोटो पत्रकारहरूले आफ्नो खाजा खर्च कटाएर सहयोग रकम संकलन गरेको एनएफपिजे नेपालले जनाएको छ ।
अध्यक्ष वन्तले सहयोग रकम सानो भए पनि विपद्मा परेका नागरिकप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सहयोग गरिएको बताए ।
एनएफपिजे नेपालले फोटो पत्रकारिता समाचार तथा सूचना सम्प्रेषणमा मात्र सीमित नभई विपद्का समयमा उद्धार, राहत तथा मानवीय संवेदनासँग जोडिएका सकारात्मक सन्देश प्रवाहमा समेत भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।
समूहका वरिष्ठ अध्यक्ष सागर श्रेष्ठले फिल्डमा प्रत्यक्ष खटिएर विपद्का घटना देखेका, भोगेका तथा अभिलेखीकरण गरेका फोटो पत्रकारहरूले दुःखको समयमा समाजप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने भावनासहित सहयोग गरेको बताए ।
सहयोग रकम हस्तान्तरणका क्रममा मन्त्री डा.तिमिल्सिनाले विपद्को दुःखद घडीमा फोटो पत्रकारहरू एकताबद्ध भएर मानवीय संवेदना र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको सहयोगले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।
मन्त्री तिमिल्सिनाले विपद्को कठिन समयमा संस्थागत रूपमा अघि बढेर सहयोग गरेकोमा एनएफपिजे नेपालका पदाधिकारी तथा सम्पूर्ण फोटो पत्रकारहरूको प्रशंसा गर्दै यसबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।




