देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

जसका कारण देशभर साधारणतया बादल लागेको छ भने सबै प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

यसैगरी देशको पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम रहेको विभागले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update