काठमाडौं । हिन्दु नेपाली महिलाहरुले मनाउने हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज दर खाँदैछन् । दरखाने दिनसँगै चार दिन मनाइने तीज पर्व सुरु हुँदैछ ।
आजको दिनमा विवाह गरी टाढा पुगेका चेलीबेटी माइत जाने तथा आमा र दिदीबहिनीसँगै दर खाने र भोलि पतिको दिर्घायूका लागि पानी समेत निराहार ब्रत बस्ने गर्छन् ।
दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाने प्रचलन छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाने गर्छन् ।
विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।
महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई लिने गरिन्छ । तीजको अवसरमा गीतका माध्यमबाट जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पिर, मर्कालाई नारीले पोख्ने गर्छन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरेपछि महादेव प्रकट भएको र महादेवलाई पतिका रुपमा प्राप्त गरेको जनविश्वास छ ।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको मान्यता छ ।
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौं महिलाको भीड लाग्ने गर्छ ।
यद्यपि पछिल्ला वर्षमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक बढेको गुनासो समेत बढ्दै गएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृति बनाउँदै लगेको छ ।




