मुस्ताङ । मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोममा मंगलबारदेखि दुई दिने घरपझोङ जलवायु सम्मेलन सुरु हुँदैछ ।
जलवायु परिवर्तनबाट नेपालमा परिरहेको असर लगायत विभिन्न विषयमा छलफलका लागि सम्मेलनको आयोजना गरिएको हो ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।
जलवायु सम्मेलनमा देशभरका ४२० स्थानीय तह र ३६ वटा जिल्ला समन्वय समितिले सहभागिता जनाउने प्रतिबद्धता जनाएको आयोगक घरपझोङ गाउँपालिकाले जनाएको छ ।
भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीलगत्तै हुन लागेको सम्मेलनमा जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका स्थानीय तहमा पुर्याएको असरका विषयमा साझा धारणा तय गरिनेछ ।
जलवायु परिवर्तनका विषयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलोपटक ‘घरपझोङ जलवायु सम्मेलन’ आयोजना गर्न लागिएको हो । घरपझोङमा हुने सम्मेलनमा मुस्ताङका अन्य चारवटा गाउँपालिकाले पनि सहयोग गरिरहेको बताइएको छ ।




