आजदेखि मुस्ताङमा दुई दिने ‘घरपझोङ जलवायु सम्मेलन–२०८३’ सुरु हुँदै

मुस्ताङ । आजदेखि मुस्ताङमा दुई दिने ‘घरपझोङ जलवायु सम्मेलन–२०८३’ सुरु हुँदैछ । 

सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको तथा सम्मेलनमा भाग लिन देशभरका ४२१ स्थानीय तह र ३६ वटा जिल्ला समन्वय समितिका पदाधिकारीहरु आइपुगेको आयोजक घरपझोङ गाउँपालिकाले जनाएको छ ।  

जोमसोम कभर्डहलमा हुने सम्मेलनको कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । 

सम्मेलनमा सहभागी हुनका लागि सोमबार साँझसम्म देशभरका स्थानीय तहका जनप्रतिनिधिसहित २ हजारभन्दा बढी मुस्ताङ पुगेका छन् । यसरी गएका अतिथिहरुका लागि स्थानीय होटलहरुमा बसोबासको व्यवस्था गरिएको छ । 

सम्मेलनका लागि घरपझोङ गाउँपालिकाअन्तर्गत रहेका सबै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य संघसंस्थालाई समेत परिचालन गरिएको छ । 

गाउँपालिकाका अनुसार अतिथिका लागि बिहानको ब्रेक फास्ट, खाना र खाजा सम्मेलनस्थलमा नै आमा समूहको टोलीले व्यवस्थापन गर्नेछ भने बेलुकाका खाना र बसोबास भने गाउँपालिकाले तोकेको होटलमा मिलाइएको छ । 

सम्मेलनका लागि गाउँपालिकाका ५ वटै वडाका सडक र बस्तीमा स्थानीय मौलिक कला, संस्कृतिसहितको ध्वजाले सजावट गरिएको छ भने मुख्य सडक तथा भित्री सडकहरुमा सडक बत्ती जडान गरिएको छ । 

सम्मेलनस्थल बाहिर मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ पचासभन्दा बढी स्टल समेत राखिएको छ । दुई दिनसम्म चल्ने सम्मेलन जलवायु परिवर्तनको असरसम्वन्धी घोषणापत्र जारी गर्दै बुधबार सकिनेछ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update