नेपालगञ्ज । अवैध लागुऔषधसहित बाँके जिल्लाबाट ७ जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट ६३.८९ ग्राम लागूऔषधसहित ७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–२ मा रहेको मुन लाइट होटेलमा लागूऔषधको कारोबार गरिरहेको सूचनाका आधारमा गएको प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले १२.४६० ग्राम लागूऔषध बरामद भएको छ ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका–३ बाट थप ३ जनालाई पक्राउ गरिएको छ । उनीहरुका साथबाट ५१.५४ ग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले मोटरसाइकल, डिजिटल, तराजु, एनसेलका सिमकार्ड नौ थान, एनटिसीका तीन थान सिमकार्ड बरामद गरेको छ ।
यसैगरी १ लाख ४६ हजार भारतीय रुपैयाँ, ९९ हजार नेपाली रुपैयाँ, विभिन्न कम्पनीका ३ वटा किप्याड मोबाइल समेत बरामद गरेको छ । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




