काठमाडौं । काठमाडौंलाई जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । गत भदौ १० गते रसुवागढी हुँदै आएको बाढीका कारण धादिङको कृष्णभिरमा सडक भासिदा यातायात अवरुद्ध बनेको थियो ।
भासिएको सडकभन्दा केही माथिबाट नयाँ ट्र्याक खोलेर १८ दिनपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।
आज बिहान साढे ६ बजेदेखि कृष्णभिरबाट दुवैतर्फ गाडी सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा बिहीबार बिहानदेखि दुई तर्फी यातायात सुचारु हुने उल्लेख छ ।
नयाँ ट्रयाकमा सडक पुनः भासिने तथा पहिरो खस्ने जोखिम कायम रहेकोले सावधानीपूर्वक गाडी चलाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकाकाको आपूर्ति शृंखलामा असर परेको थियो ।




