जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २९औं स्मृति दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनको नेतृत्व गरेका गणेशमान सिंहको २९औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

सिंहको स्मृति दिवसका अवसरमा आज काँग्रेस र उसका भ्रातृ तथा शुभेच्छुक संघ संगठनले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । सिंहले नेपालमा प्रजातन्त्र पुस्र्थापनाका लागि भएको २०४६ को जनआन्दोलनको सफल नेतृत्व गरेका थिए । 

तर जनआन्दोलन सफल भई बहुदलीय प्रजातन्त्र स्थापना भएपछि भने सिंहले प्रधानमन्त्रीका लागि गरेको प्रस्ताव समेत अस्वीकार गरेका थिए ।

उनलाई तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दा आफ्नै समकक्षी तथा सादगी नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारेका थिए । 

सिंहको जन्म विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा भएको हो । उनको २०५४ साल असोज २ गते निधन थियो । सानै उमेरदेखि राणाशासनको विरोधमा उभिएका उनी प्रजा परिषद्को सदस्य भएर राणाविरोधी अभियानमा सक्रिय भएका थिए ।

त्यसक्रममा उनी पक्राउ समेत परेका थिए । तर २००७ सालअघि भद्रगोल जेल फोरेर भाग्न सफल भएपछि भारतमा पुगेर बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकास गरे भने २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्व गरे । 

प्रजातन्त्र स्थापनाका लागि काँग्रेसले सशस्त्र संघर्ष गर्दा उनले वीरगन्ज मोर्चाको नेतृत्व गरेका थिए । विसं २०१५ को पहिलो निर्वाचनपछि बनेको सरकारमा मन्त्री भएका सिंह २०१७ सालमा महेन्द्रले पञ्चायत लादेपछि ८ वर्ष सिंहदरबार र सुन्दरीजलमा जेलजीवन बिताए । 

विसं २०२५ सालमा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमै बसेर राजनीतिक संगठन विस्तार गर्न प्रमुख भूमिका निर्वाह गरे ।

जब २०३३ सालमा बिपी राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किए तब पञ्चायती पञ्चायती व्यवस्थाविरूद्ध सक्रिय हुँदै बहुदलीय व्यवस्था स्थापनाका लागि संघर्षको नेतृत्व गरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update